२० फागुन, काठमाडौँ । राजधानीको बूढानीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भंगालमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सफलतापूर्वक निस्क्रिय पारेको छ । मंगलबार मध्यरातमा सडक पेटीमा फेला परेको उक्त वस्तु बम भएको आशंकामा स्थानीयवासी त्रसित बनेका थिए ।
तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेल जाने सडक खण्डको पेटीमा सेतो कागजले बेरिएको अवस्थामा प्रेसर कुकर फेला परेको थियो । मंगलबार राति करिब १२ बजे शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै सुरक्षा घेरा निर्माण गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिइएको थियो ।
घटनाको जानकारी पाएलगत्तै चन्दन नाथ गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली कार्यस्थलमा खटिएको थियो । टोलीले बुधबार बिहान करिब ७ बजे उक्त शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निस्क्रिय पारेको हो । सेनाले डिस्पोज गरेपछि मात्रै उक्त वस्तुभित्र के थियो भन्ने रहस्य खुलेको हो ।
“निस्क्रिय पारिएको उक्त कुकरभित्र विस्फोटक पदार्थ नभई सलाईका काँटी र इँटाका टुक्रा मात्रै भेटिएका छन्,” नेपाली सेनाको स्रोतले पुष्टि गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सर्वसाधारणमा डर र त्रास फैलाउने उद्देश्यले कसैले “होक्स बम” (नक्कली बम) राखेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शंकास्पद वस्तु निस्क्रिय पारिएसँगै अहिले सो क्षेत्रको जनजीवन सामान्य बनेको छ । प्रहरीले उक्त वस्तु कसले र किन राख्यो भन्नेबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

















