प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले आज राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने भएको छ ।

निर्वाचन आयोगको सिफारिसअनुसार मतदानको दिन हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका सबै निजी तथा सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाइएको हो ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यो प्रतिबन्ध आज राति १२ बजेदेखि भोलि (मतदानको दिन) साँझ ५ बजेसम्म कायम रहनेछ । आयोगले मतदान प्रक्रिया सम्पन्न नहुन्जेलसम्मका लागि सुरक्षा व्यवस्था कडा पार्न यस्तो निर्णय लिएको हो । यद्यपि, मानवीय संवेदनशीलता र निर्वाचन प्रक्रियालाई सहज बनाउन तीन प्रकारका सवारी साधनलाई भने निर्वाध सञ्चालनको अनुमति दिइएको छ । जसमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका गाडी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारी जस्ता अत्यावश्यक सेवाहरू पर्दछन् ।

यसैगरी, कूटनीतिक नियोगका निलो प्लेट भएका सवारी साधन र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट विशेष अनुमति प्राप्त (पास भएका) सवारी साधनले पनि सञ्चालन अनुमति पाउनेछन् ।

सूचना अधिकारी घिमिरेले सम्पूर्ण मतदाता तथा यात्रुहरूलाई सवारी प्रतिबन्ध सुरु हुनुअगावै आ-आफ्नो गन्तव्यमा पुग्न आग्रह गरेका छन् । निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै समस्या वा अवरोध सिर्जना भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न समेत आयोगले अनुरोध गरेको छ। आवश्यक परेमा सुरक्षा निकायले आयोगसँगको समन्वयमा सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।


सम्बन्धित समाचार