Logo

४ चैत्र, काठमाडौं ।  इजरायल र लेबननबीच जारी युद्धले उग्र रूप लिँदै जाँदा बुधबार मध्य बेरुतमा इजरायलले भीषण हवाई आक्रमण गरेको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार यस आक्रमणमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य २४ जना गम्भीर घाइते भएका छन् । इजरायली वायुसेनाले सरकारी मुख्यालय र विभिन्न देशका दूतावासहरू नजिकै रहेको आवासीय क्षेत्र ‘जुकाक अल–ब्लाट’ र बास्ता जिल्लालाई निशाना बनाएर दुईपटक हमला गरेको थियो। मन्त्रालयले मृतकको संख्या प्रारम्भिक भएको र क्षतविक्षत शवहरूको पहिचान डीएनए परीक्षणपछि मात्रै हुने स्पष्ट पारेको छ ।

पछिल्लो समय पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ, जसको मुख्य कडी गत फेब्रुअरी २८ मा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यालाई मानिएको छ । अमेरिका र इजरायलको संयुक्त हमलामा खामेनीको मृत्यु भएपछि इरान समर्थित समूह हेजबुल्लाहले बदला लिन इजरायलमाथि लगातार आक्रमण गरिरहेको छ । यसैको जवाफी कारबाही स्वरूप इजरायलले लेबननको राजधानी बेरुतका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण तीव्र पारेको हो ।

यसैबीच इरानले पनि इजरायल र अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुकहरूमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेको छ । बेरुतको यो पछिल्लो घटनाले सर्वसाधारणको ज्यान लिने मात्र नभई समग्र खाडी क्षेत्रलाई नै एउटा ठूलो क्षेत्रीय युद्धको संघारमा पुर्‍याएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरे तापनि दुवै पक्षबीचको सैन्य भिडन्त रोकिने संकेत देखिएको छैन ।


सम्बन्धित समाचार