४ चैत्र, काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ स्थित बालावेसीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।
बुधबार दिउँसो करिब १२ः०२ बजे अवतरण गर्ने क्रममा ‘९–एनएफक्यू’ कलसाइन रहेको उक्त हेलिकप्टर पहाडको भित्तामा ठोक्किएको हो । दुर्घटनाको समयमा हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना सवार थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा परी एक जना यात्रु घाइते भएका छन् भने अन्य सबै सकुशल रहेका छन् ।
दुर्घटनामा परी घाइते हुनेमा काजीबहादुर राई रहेका छन् । उनको अवस्थालाई ध्यानमा राख्दै तत्काल उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ । घाइतेको उद्धार र थप उपचारका लागि एयर डाइनेस्टीकै अर्को हेलिकप्टर घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ ।
पहाडी भेगमा अवतरणका क्रममा प्राविधिक कारणले भित्तामा ठोक्किएर भएको यो दुर्घटनाले हवाई सुरक्षामा फेरि प्रश्न उठाएको छ, यद्यपि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

















