४ चैत,काठमाडौं । इजरायलले गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी र अर्धसैन्य दस्ता बासिजका कमाण्डर घोलामरेजा सुलेमानीसहित एक दर्जन सैनिक मारिएका छन्।
इरानको संस्थापन पक्षभित्र तुलनात्मक रूपमा उदार धारका नेताका रूपमा चिनिने लारिजानीले पश्चिमा देशहरूसँग आणविक वार्तामा महत्वपूर्ण भूमिका खेलेका थिए।
तर, गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइ र रिभोलुसनरी गार्ड्स कोप्र्सका शीर्ष कमाण्डर मारिएपछि लारिजानी आक्रामक रूपमा प्रस्तुत भएका थिए।
उनले सामाजिक सञ्जालमार्फत अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिँदै प्रतिशोधको चेतावनी दिएका थिए।
खामेनेइको निधनपछि इरानमा सिर्जना भएको शक्ति रिक्तताको अवस्थामा देशलाई प्रतिरोधको मार्गमा लैजान लारिजानीले महत्वपूर्ण भूमिका खेलेका थिए। तीन सदस्यीय सरकार सञ्चालन परिषद् गठनदेखि रिभोलुसनरी गार्ड्स कोप्र्ससँग समन्वय निर्माणसम्म उनको सक्रियता देखिएको थियो।
रिभोलुसनरी गार्ड्सका सदस्यहरूबीच लोकप्रिय रहेका लारिजानी नेतृत्व चयनको बहसमा पनि प्रभावशाली मानिन्थे। पश्चिमा सञ्चारमाध्यमहरूका अनुसार उनले मोज्ताबा खामेनेइलाई सर्वोच्च नेता बनाउने प्रस्तावको विरोध गरेका थिए।
उनको धारणा अनुसार इस्लामिक क्रान्तिको मूल उद्देश्य वंशवादको विरोध गर्नु थियो, र उनले अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्ने उदार नेतृत्वको आवश्यकता औंल्याएका थिए।
यस घटनाले मध्यपूर्वमा बढ्दो तनाव र शक्ति सन्तुलनमा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ।


















