६ चैत,काठमाडौं ।‘होर्मुज स्ट्रेट’ मा जारी अवरोध अप्रिलको अन्त्यसम्म कायम रहेमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १८० अमेरिकी डलरसम्म पुग्न सक्ने आकलन गरिएको छ। साउदी अरबका अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रिट जर्नलले यस्तो सम्भावना औंल्याएको हो।
फेब्रुअरी २८ देखि सुरु भएको इरानसँगको युद्धपछि विश्व बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रति ब्यारेल ११९ डलर नजिक पुगेको थियो, तर पछि घटेको देखिएको छ।
रियादस्थित किङ फैसल सेन्टर फर रिसर्च एन्ड इस्लामिक स्टडिजका विदेश नीति विशेषज्ञ उमेर करिमका अनुसार, युद्ध यस्तै रूपमा लम्बिँदै गएमा तेलको मूल्य कम्तीमा १५० डलरसम्म पुग्न सक्छ। उनले विशेषगरी लाल सागर क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा आक्रमण भएमा मूल्य अझै बढ्ने चेतावनी दिएका छन्।
‘यदि लाल सागरका टर्मिनलहरूमा आक्रमण भयो वा त्यहाँ कुनै प्रकारको अवरोध सिर्जना भयो भने तेलको मूल्य १५० डलरभन्दा माथि पुग्ने सम्भावना अत्यधिक छ,’ उनले भने। उनका अनुसार हाल युरोप र एसियाबीचको प्रमुख समुद्री मार्ग यही क्षेत्र रहेको छ।
साउदी अरबले खाडी क्षेत्रभन्दा करिब १,००० किलोमिटर टाढा रहेको लाल सागरको यान्बु बन्दरगाहमार्फत तेल निर्यात जारी राखेको छ। तर, खाडी क्षेत्रका ऊर्जा केन्द्रहरू इरान र इजरायलबीचको द्वन्द्वका कारण जोखिममा परिरहेका बेला उक्त बन्दरगाह पनि सम्भावित निशानामा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
यसैबीच, कतारस्थित विश्वकै ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) निर्यात केन्द्र रास लाफानमा इरानको आक्रमणपछि क्षतिको आकलन भइरहेको छ। पेरिसस्थित सेन्टर अन ग्लोबल एनर्जी पोलिसीकी एनी–सोफी कोर्बोका अनुसार क्षतिको पूर्ण विवरण अझै स्पष्ट भइसकेको छैन।
उनले अघिल्ला घटनाहरूको उदाहरण दिँदै एलएनजी केन्द्रहरूको मर्मतमा लामो समय लाग्ने बताइन्। सन् २०२२ मा अमेरिकाको फ्रिपोर्ट एलएनजी केन्द्र आठ महिनासम्म बन्द भएको थियो भने सन् २०२० मा नर्वेको स्नोभिट केन्द्र डेढ वर्षसम्म सञ्चालनमा आउन सकेको थिएन।
कोर्बोका अनुसार, सबैभन्दा खराब अवस्थामा रास लाफान केन्द्र सन् २०२६ सम्म पुनः सञ्चालनमा नआउन सक्छ। यसले विश्वव्यापी ग्यास आपूर्तिमा ठूलो धक्का पुग्ने र मूल्यमा दीर्घकालीन असर पर्ने अनुमान गरिएको छ।
उनले भनिन्, ‘यदि यस्तो अवस्था आयो भने विश्व ग्यास बजार २०२१ कै स्तरमा फर्किन सक्छ, जसले ऊर्जा संकटलाई थप गहिरो बनाउन सक्छ।’


















