८ चैत,काठमाडौं । इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ। इजरायली एम्बुलेन्स सेवाका अनुसार आक्रमणमा कम्तीमा १५० जनाभन्दा बढी घाइते भएका छन्।
इजरायली आर्मी रेडियोका अनुसार डिमोना र नजिकैको अराद सहरमा भएको आक्रमणपछि घाइतेहरूलाई सोरोका अस्पतालमा लगिएको छ। घाइतेहरूको अवस्था र क्षतिको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन।
अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA)ले हालसम्म डिमोनाबाट कुनै रेडिएसन चुहावट भएको जानकारी नभएको जनाएको छ। एजेन्सीका महानिर्देशक राफेल ग्रोस्सीले युद्धकालमा परमाणु संरचनाको सुरक्षा र संयम अपनाउन जोड दिएका छन्।
विश्लेषकहरूले डिमोनामाथिको आक्रमणलाई इरानको नतान्ज परमाणु केन्द्रमाथि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणको प्रतिकारको रूपमा व्याख्या गरेका छन्। नतान्ज इरानको सबैभन्दा ठूलो परमाणु केन्द्र हो, जहाँ ६० प्रतिशतसम्म यूरेनियम समृद्धि गरिएको दाबी गरिएको छ।
एम्बुलेन्स सेवाका अनुसार अरादमा पनि आक्रमण भएको छ, जहाँ ६८ जना घाइते भएका छन्। तीमध्ये ४७ जनाको अवस्था सामान्य र १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
डिमोना र अरादमाथि प्रहार गरिएका मिसाइलहरूलाई इजरायली वायु रक्षा प्रणाली ‘आइरन डोम’ले रोक्न असफल भएको छ। दमकलकर्मीका अनुसार यी मिसाइलहरू भारी वारहेडसहित प्रहार गरिएको र ठूलो क्षति पुर्याएको छ।
डिमोना सहर नजिकै नेगेभ मरुभूमिमा रहेको शिमोन पेरेज नेगेभ आणविक अनुसन्धान केन्द्रलाई ‘डिमोना रिएक्टर’ पनि भनिन्छ। यो केन्द्र इजरायलको अघोषित परमाणु हतियार भण्डारणस्थल मानिन्छ, यद्यपि इजरायलले यसलाई औपचारिक रूपमा अनुसन्धान केन्द्र मात्रै भएको बताउँदै आएको छ।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा एकमात्र परमाणु शक्ति सम्पन्न देशको यस्तो संवेदनशील केन्द्रमाथि आक्रमण हुनु अत्यन्त गम्भीर विषय हो र क्षेत्रीय सुरक्षा र तनावमा थप वृद्धि गर्ने सम्भावना रहेको छ।


















