Logo

८ चैत, काठमाडौं । युद्धग्रस्त सुडानको डार्फर क्षेत्रमा रहेको एक अस्पतालमा भएको आक्रमणमा कम्तीमा ६४ जनाको ज्यान गएको छ, जसमा १३ बालबालिका पनि रहेका छन्।

पूर्वी डार्फर राज्यको राजधानी अल–दाईनस्थित शिक्षण अस्पतालमा भएको उक्त आक्रमणमा दुई महिला नर्स र एक पुरुष डाक्टरको पनि मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिएका छन्।

आक्रमणपछि अस्पताल पूर्णरूपमा निष्क्रिय बनेको छ, जसका कारण घाइते तथा बिरामीहरूको उपचारमा गम्भीर सङ्कट उत्पन्न भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण दिनानुदिन भयावह बन्दै गएको छ। सन् २०२३ अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)बीचको शक्ति संघर्ष व्यापक युद्धमा परिणत भएको छ।

यसैबीच, उक्त आक्रमणको जिम्मेवारीलाई लिएर दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्।

डब्ल्यूएचओका अनुसार हालसम्मको द्वन्द्वमा ४० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ, यद्यपि विभिन्न सहायता संस्थाहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन्।

स्वास्थ्य संस्थामाथि मात्र भएका आक्रमणमा दुई हजारभन्दा बढीको ज्यान गइसकेको तथ्याङ्क डब्ल्यूएचओले सार्वजनिक गरेको छ।


सम्बन्धित समाचार