Logo

९ चैत, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका पालिकाभित्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित शुभकामना दिँदै बिदाइ गरेको छ। गाउँपालिकाको शिक्षा शाखाले आइतबार जगरनाथपुर–४ सण्ठीस्थित एक विद्यालयमा विशेष बिदाइ कार्यक्रमको आयोजना गरेको हो ।

चैत १९ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षामा सम्मिलित हुन लागेका गाउँपालिकाभित्रका तीन वटा माध्यमिक विद्यालयका १ सय २० जना छात्र–छात्रालाई कार्यक्रममा बिदाइ गरिएको शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरूलाई गाउँपालिकाको लोगो अंकित टी–सर्ट, डायरी र कलम वितरण गरेका थिए । सहभागी १ सय २० जना परीक्षार्थीहरूलाई ती शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । वितरण पश्चात् अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलगायतले विद्यार्थीहरूलाई खादा ओढाएर परीक्षा सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष यादवले परीक्षार्थीहरूलाई ढुक्क भएर परीक्षामा सहभागी हुन र उत्कृष्ट नतिजा ल्याउन प्रोत्साहन गरे । उनले एसईई पूरा गरेपछि उच्च शिक्षा अध्ययनका क्रममा कुनै पनि किसिमको समस्या वा आर्थिक अभाव भएमा सिधै आफू वा प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गर्न विद्यार्थीहरूलाई आग्रह गरे । गाउँपालिका सधैँ विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि अभिभावकीय भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।

जगरनाथपुर गाउँपालिकाको शिक्षा शाखाको संयोजनमा सम्पन्न भएको उक्त भव्य बिदाइ कार्यक्रममा शिक्षा समितिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार