१० चैत, काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी आफैँ सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । पोखराकै धनुष बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीले जैसीलाई मंगलबार पक्राउ गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालयले गरेको विस्तृत अनुसन्धानका क्रममा जैसी धनुष सहकारीको ८२ लाख रुपैयाँ हिनामिनामा प्रत्यक्ष संलग्न रहेको पाइएको थियो । सोही छानबिन प्रतिवेदनको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अनुसन्धान प्रतिवेदनका अनुसार जैसीले धनुष सहकारीको ऋण उपसमितिमा रहँदा पदको दुरुपयोग गर्दै कृत्रिम खाताहरू सिर्जना गरी ८२ लाख रुपैयाँ अपचलन गरेका थिए। उक्त सहकारीबाट कुल ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ । यस प्रकरणमा जैसीसहित अन्य ४ जना विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले उल्लेख गरेको छ ।
जैसी तिनै व्यक्ति हुन् जसले सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना भएको दाबी गर्दै ग्यालेक्सी टेलिभिजनका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जीबी राई लगायतविरुद्ध जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा हाल रवि लामिछाने र अन्य व्यक्तिहरूविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । सूर्यदर्शनका ‘पीडित’ बनेर न्यायको माग गर्दै आएका जैसी आफैँ अर्को सहकारीको ‘ठग’ का रूपमा किटानी भएपछि पोखराको सहकारी वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ ।
प्रहरीले पक्राउ परेका जैसीमाथि थप अनुसन्धान सुरु गरेको छ भने फरार रहेका अन्य आरोपितहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

















