Logo

१० चैत, काठमाडौँ । कोलम्बियाको दक्षिण-पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा एक सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९० जनाको ज्यान गएको छ। ११० जना सवार रहेको उक्त विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

कोलम्बियाली रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार विमानमा रहेका यात्रुमध्ये २० जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्कालै उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। घाइतेहरूको अवस्था नाजुक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।

दुर्घटनाको समयमा विमान अवतरणको तयारीमा रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि दुर्घटनाको ठोस कारण भने अझै खुल्न सकेको छैन। कोलम्बियाली सरकारले घटनाको उच्चस्तरीय अनुसन्धानका लागि एक टोली गठन गरेको छ।

रक्षा मन्त्रालयले विमान प्राविधिक समस्याका कारण दुर्घटना भएको हो या मौसमको खराबीले भन्नेबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ। घटनास्थलमा उद्धार टोलीहरू अझै खटिएका छन् र विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

यो दुर्घटनालाई कोलम्बियाको सैन्य उड्डयन इतिहासकै एक ठूलो र दुखद घटनाका रूपमा लिइएको छ।


सम्बन्धित समाचार