Logo

११ चैत, चितवन । चितवनको माडी नगरपालिका वडा नम्बर ७, देवेन्द्रपुर ठाडो लाइनमा अवस्थित रमाइलो आमा समूहले धार्मिक, सामाजिक र वातावरणीय क्षेत्रमा उल्लेखनीय योगदान गर्दै समुदायमा सकारात्मक परिवर्तनको सन्देश फैलाइरहेको छ ।

विशेषगरी रात्रिकालीन समयमा हुने भजन–कीर्तनमार्फत धार्मिक चेतना अभिवृद्धि गर्दै आएको यस समूहले हरेक महिनाको एकादशीमा टोलटोल तथा धार्मिक स्थानमा पालैपालो भजन–कीर्तन आयोजना गर्ने परम्परालाई निरन्तरता दिएको छ ।

समूहले केवल धार्मिक गतिविधिमै सीमित नरही वैदेशिक रोजगारीबाट गाउँ फर्किएका व्यक्तिहरूलाई साँझको समयमा स्वागत गर्ने, विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यहरूमा समेत भजन–कीर्तनमार्फत सहभागिता जनाउँदै सामाजिक सद्भाव र एकता मजबुत बनाउने कार्य गरिरहेको छ ।

माडी क्षेत्रका विभिन्न धार्मिक स्थलहरूमा हुने भजन–कीर्तन कार्यक्रममा आमा समूहको सक्रिय उपस्थिति रहने गरेको छ भने उत्कृष्ट प्रस्तुति मार्फत विभिन्न अवसरमा पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ ।

वातावरण संरक्षणतर्फ पनि रमाइलो आमा समूह उत्तिकै सक्रिय देखिन्छ। मठमन्दिर, बाटाघाटा, चौतारा लगायत सार्वजनिक स्थलहरूको नियमित सरसफाइ, वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।

साथै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू बिरामी पर्दा सहयोग गर्ने मानवीय कार्यले समुदायमा सहकार्य र सहानुभूतिको भावना अझ मजबुत बनाएको देखिन्छ ।

अब समूहले आफ्नो कार्यक्षेत्रभित्र पर्ने सडकका दायाँबायाँ, सार्वजनिक स्थल, चौतारा तथा विद्यालयहरूमा वातावरणमैत्री डस्टबिन (डोका) राख्ने अभियान अघि बढाउने तयारी गरेको छ। यसले फोहोर व्यवस्थापनमा सुधार ल्याई स्वच्छ र हरित वडा निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

समूहकी अध्यक्ष सरस्वती काफ्लेले आमा समूहले गर्दै आएका गतिविधिहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताउँदै आगामी दिनमा अझ सशक्त रूपमा सामाजिक तथा वातावरणीय कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यस्ता गतिविधिहरूमा महिलाहरूको उल्लेखनीय सक्रियता मात्र नभई युवा पुस्ताको पनि चासो र सहभागिता बढ्दै गएको देखिन्छ । भजन–कीर्तन, सरसफाइ र सामाजिक सेवामा आमा समूहको सक्रियता देखेर युवाहरू प्रेरित भइरहेका छन्। पुस्तौंदेखि चलिआएको धार्मिक तथा सामाजिक संस्कारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाँदा समाजमा अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास हुने विश्वास गरिएको छ। यसले भविष्यमा जिम्मेवार, सचेत र सामाजिक रूपमा सक्रिय नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ।

सामूहिक रूपमा गरिने यस्ता सामाजिक कार्यहरूले समाजमा एकता, सहकार्य र उत्तरदायित्वको भावना विकास गर्नुका साथै वातावरण संरक्षणमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने देखिन्छ। रमाइलो आमा समूहको सक्रियता अहिले माडी क्षेत्रमा उदाहरणीय पहलका रूपमा स्थापित हुँदै गएको छ।


सम्बन्धित समाचार
भर्खरै