११ चैत,काठमाडौं । जापान को राजधानी टोकियोस्थित चिनियाँ दूतावास मा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध रूपमा प्रवेश गरेको घटनाले जापान र चीन बीचको सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।
जापान सरकारका शीर्ष प्रवक्ता मिनोरु किहारा ले उक्त घटनालाई ‘खेदजनक’ भन्दै अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। उनले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेको निकायकै सदस्य संलग्न हुनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको बताएका छन्।
प्रहरीका अनुसार २३ वर्षीय कोडाई मुराता लाई मङ्गलबार बिहान दूतावास परिसरमा प्रवेश गरेपछि पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले दूतावासका राजदूतलाई भेटेर कट्टर टिप्पणी नगर्न आग्रह गर्ने योजना बनाएको र अस्वीकृत भए आत्महत्या गरेर ध्यानाकर्षण गराउने सोच बनाएको बयान दिएका छन्।
घटनास्थलबाट एक छुरीसमेत बरामद गरिएको एनएचके ले जनाएको छ, जसले सुरक्षा चासो थप बढाएको छ।
यस घटनाप्रति प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान ले बेइजिङ ‘गहिरो स्तब्ध’ भएको बताएका छन्। उनले जापानसमक्ष औपचारिक रूपमा कडा विरोध दर्ता गरिएको र यस्ता घटनालाई गम्भीर रूपमा लिन आग्रह गरिएको जानकारी दिएका छन्।
उक्त घटनाले पहिले नै संवेदनशील अवस्थामा रहेको दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको विश्लेषण गरिएको छ। गत नोभेम्बरमा जापानका प्रधानमन्त्री साने ताकाइची ले ताइवानसम्बन्धी सम्भावित परिस्थितिमा जापानले भूमिका खेल्न सक्ने संकेत दिएका थिए, जसले टोकियो–बेइजिङ सम्बन्धमा चिसोपना ल्याएको थियो।
ताइवान लाई आफ्नो अभिन्न भूभाग मान्दै आएको चीनले आवश्यक परे विभिन्न विकल्प खुला राखेको बताउँदै आएको छ, जसका कारण क्षेत्रीय सुरक्षाबारे चिन्ता निरन्तर बढिरहेको छ।


















