Logo

११ चैत,काठमाडौं । विश्व अहिले दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको छ, विशेष गरी मध्यपूर्वको द्वन्द्वका कारण सर्वसाधारण नागरिकको जीवनमा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्रसंघको परियोजना सेवा कार्यालयका कार्यकारी निर्देशक जोर्ज मोरेइरा दा सिल्भाका अनुसार हिंसा र अस्थिरताका कारण ठूलो सङ्ख्यामा मानिसहरू आफ्ना घरबार छोड्न बाध्य भइरहेका छन्, र यो संख्या प्रत्येक घण्टामा बढ्दो क्रममा छ।

उनीँले मध्यपूर्वको द्वन्द्वले सीमाना नाघ्दै विश्व अर्थतन्त्रलाई समेत असर गरेको बताए। तेल, इन्धन र ग्यासको मूल्यमा तीव्र वृद्धि हुँदा यसको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ। विशेषगरी एशिया र अफ्रिकाका विकासोन्मुख देशहरू यसबाट सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको छ।

मोरेइरा दा सिल्भाले यस वर्ष विश्वभर भोकमरीको समस्या झन् गम्भीर बन्ने र प्रभावित हुने मानिसहरूको संख्या करोडौंले बढ्न सक्ने चेतावनी पनि दिएका छन्।

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई सुरक्षा परिषद्का निर्णयहरू कार्यान्वयन गर्न र कूटनीतिक तथा शान्तिपूर्ण उपायमार्फत द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ।

उक्त कार्यालयले विश्वका १०० भन्दा बढी देशहरूमा परियोजना व्यवस्थापन, खरिद तथा पूर्वाधार विकाससम्बन्धी सेवा प्रदान गर्दै आएको छ।


सम्बन्धित समाचार