Logo

१२ चैत, रौतहट । भारतीय सीमावर्ती जिल्ला रौतहटमा प्रहरीले भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाएको छ । यसै क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका निकायबाट खटिएको टोलीले ठुलो परिमाणमा अवैध मोटरसाइकल र खाद्यान्न सामग्री बरामद गरेको छ ।

गौर नगरपालिका–४ स्थित बसपार्क चोकमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले नियमित सवारी चेकजाँच गर्ने क्रममा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको ७ हजार २३० रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य खुद्रा सामान नियन्त्रणमा लिएको हो ।

यसैगरी, जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा आवश्यक कागजात नभएका १५ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रदीप बस्यालका अनुसार बरामद गरिएका मोटरसाइकलहरूको बजार मूल्य करिब ११ लाख ७० हजार रुपैयाँ रहेको छ। खाद्यान्न र मोटरसाइकल गरी कुल ११ लाख ७७ हजार २३० रुपैयाँ बराबरको धनमाल बरामद गरिएको डीएसपी बस्यालले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका सबै १५ वटा मोटरसाइकल र अवैध सामानलाई आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै