Logo

१२ चैत, काठमाडौँ । विराटनगरमा एक साताअघि भएको जघन्य हत्याकाण्डको सनसनीपूर्ण रहस्य खुलेको छ । आफ्नै श्रीमतीको हत्या गरी शवलाई तन्नामा पोको पारेर फोहरको थुप्रोमा फाल्ने र अपराध लुकाउन प्रहरीमा ‘श्रीमती हराएको’ भन्दै निवेदन दिने व्यक्तिको कर्तुत मोरङ प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर महानगरपालिका-१५ बस्ने ३२ वर्षीया कोमल कुमारी साहको हत्या प्रकरणमा उनका श्रीमान् रोशन साह र जेठाजु दिपेन्द्र साहको संलग्नता पुष्टि भएको दाबी गरेको छ ।

प्रहरीका अनुसार गत चैत ६ गते मध्यरातमा रोशनले घरभित्रै सारी र गलबन्दीले घाँटी कसी कोमलको हत्या गरेका थिए भने शव व्यवस्थापनमा ४६ वर्षीय दाजु दिपेन्द्रले मतियारका रूपमा सहयोग गरेका थिए ।

प्रारम्भिक अनुसन्धानका अनुसार हत्यापछि दुवै दाजुभाइले कोमलको हातखुट्टा डोरीले बाँधी तन्नामा पोको पारेर प्र. १–०२–००३ ह ५७०७ नम्बरको सिटी सफारीमा राखी घरबाट करिब ४ किलोमिटर टाढा विराटनगर-१७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्ट मुनि नालीमा फालेका थिए ।

अपराध लुकाउन माहिर देखिएका रोशनले शव फालेको दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानी पुगेर श्रीमती हराएको हुलियासहितको निवेदन दिएर प्रहरीलाई समेत झुक्याउने प्रयास गरेका थिए ।

उनले आफूमाथि शंका नहोस् भनेर माइती पक्षसँग निरन्तर सम्पर्कमा रही खोजीका लागि चिन्ता व्यक्त गर्ने नाटक समेत गरिरहेका थिए । तर, चैत १० गते स्थानीयले नालीमा शङ्कास्पद पोको देखेपछि प्रहरीले सडेको अवस्थामा शव फेला पारेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेका अनुसार घटनास्थलको प्रकृति र हुलिया निवेदनको सुक्ष्म विश्लेषण गर्दा शंकाको सुई श्रीमानतिर सोझिएको थियो। सघन सोधपुछका क्रममा रोशनले दाम्पत्य सम्बन्धमा उत्पन्न अविश्वास र शंकाका कारण श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।

अभियुक्तले सीसीटीभी नभएको सडक र दुर्गन्धित स्थान छनोट गर्नुले हत्या पूर्वनियोजित भएको पुष्टि हुने प्रहरीको भनाइ छ । मृतकको पहिचान माइती पक्षले लगाएको गहना र कपडाका आधारमा गरेका थिए । हाल मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी दुवै अभियुक्तमाथि ‘कर्तव्य ज्यान’ मुद्दामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै