१२ चैत,काठमाडौं । सुडानमा भएको ड्रोन आक्रमणमा कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। बिहीबार एएफपीले स्थानीय स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो।
सुडानी सेना र अर्ध–सैनिक द्रुत समर्थन बल (आरएसएफ) बीच लामो समयदेखि जारी युद्धका कारण दैनिक रूपमा ड्रोन आक्रमणको संख्या बढेको छ। उत्तरी डार्फर राज्यको सराफ ओमरा सहरको बजारमा भएको आक्रमणमा एक शिशुसमेत समावेश गरी २२ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीका अनुसार ड्रोनले पार्क गरिएको तेल ट्याङ्कमा प्रहार गर्दा बजारको केही भागमा आगो लागेको थियो। सराफ ओमरा र दुर्गम डार्फर क्षेत्रका बजार बिक्रेता हमिद सुलेमानले पनि आगो लागेर बजारमा व्यापक क्षति पुगेको बताए।
उत्तरी कोर्डोफान सडकमा भएको अर्को ड्रोन आक्रमणले ट्रकमा आगो लगाइदिएको छ। अस्पतालमा ल्याइएका ६ शवमध्ये तीन जलेका छन् भने १० जना घाइते भएका छन्। स्थानीय एल–राहाद अस्पतालले आक्रमणको जिम्मेवारी आरएसएफमाथि लगाएको छ।
सुडानमा लामो समयदेखि चलेको युद्धले दशौं हजारको ज्यान लिएको छ भने करिब एक करोड १० लाख मानिस विस्थापित भएका छन्।


















