Logo

१३ चैत, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेसँगै मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम एकल बहुमतको सरकार गठन हुन लागेको हो । शपथ ग्रहणअघि राष्ट्रपति कार्यालयले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक जानकारी गराउनेछ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कुल २७५ मध्ये १८२ सिटमा सानदार जित निकाल्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो । सोही जनमतका आधारमा बिहीबार बसेको पार्टीको बैठकले नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मतका साथ निर्वाचित शाहको नेतृत्वमा बन्ने यो सरकार नेपालको संसदीय इतिहासमा नयाँ शक्तिको उदयका रूपमा हेरिएको छ । बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएसँगै नयाँ सरकार गठनको संवैधानिक बाटो खुलेको हो ।

शीतल निवासमा आयोजना हुने शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च पदस्थ सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ ।

स्रोतका अनुसार आज प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीहरूको पनि सपथ गराउने तयारी भइरहेको छ। नयाँ सरकारको गठनसँगै आम नागरिकमा सुशासन र विकासको नयाँ आशा पलाएको छ ।


सम्बन्धित समाचार
भर्खरै