१३ चैत, वीरगञ्ज । असत्यमाथि सत्यको विजय र मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मजयन्तीको स्मरणमा आज देशभर रामनवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
चैत्र शुक्ल नवमीका दिन मनाइने यस पर्वका अवसरमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा विष्णुको सातौँ अवतार लिई यसै दिन श्रीरामको जन्म भएको धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार रामनवमी केवल धार्मिक अनुष्ठान मात्र नभई एक आदर्श र अनुशासित राज्य सञ्चालनको प्रतीक पनि हो ।
“रामराज्यमा जसरी जनता सुखी र अनुशासित थिए, अहिलेका शासक र नागरिकले पनि त्यस्तै मर्यादा र नियन्त्रण अपनाउन सके मात्र यो पर्व मनाउनुको वास्तविक सार्थकता हुन्छ,” उनले बताए ।
शास्त्रीय मान्यता अनुसार आजको दिन व्रत बसी श्री रामको पूजापाठ, जप र ध्यान गर्नाले मनले चिताएको कार्य पूरा हुने र अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने विश्वास ‘व्रतार्क’ नामक ग्रन्थमा उल्लेख छ।
विशेषगरी जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा आज नेपाल तथा भारतका हजारौँ श्रद्धालुहरूको विशेष मेला लागेको छ। त्रेता युगमा अयोध्यामा जन्मिएका श्रीरामले मिथिलाकी राजकुमारी सीतासँग विवाह गरेपछि संसारबाट राक्षसी प्रवृत्तिको अन्त्य गरी धर्मको स्थापना गरेका थिए । यसै स्मृतिमा आज पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गरी रामायण वाचन गर्ने र रातभर भजनकीर्तन गर्ने परम्परा छ । परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँका रूपमा मनाइने गरिए तापनि पछिल्लो समय असोजको नवरात्र बढी प्रचलनमा रहेको इतिहासकारहरूको भनाइ छ ।
आजको दिन रामचन्द्रको कुण्डलीमा पाँच ग्रहहरू (सूर्य, मङ्गल, गुरु, शुक्र र शनि) एकसाथ रहेको दुर्लभ योग परेको ज्योतिषीय विश्लेषण छ । यस्तो पवित्र दिनमा भगवान् रामको आराधना गर्नाले घरमा ‘श्री’ (सम्पत्ति र समृद्धि) प्राप्त हुने विश्वासका साथ घर-घरमा विशेष पूजा अर्चना गरिँदै छ ।

















