१४ चैत, काठमाडौँ । मुलुकको राजनीतिमा आएको पछिल्लो सनसनीपूर्ण मोडबीच नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ‘कानुनभन्दा माथि कोही नहुने’ उद्घोष गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्यायको सुरुवात भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै ‘जेनजी आन्दोलन’ दमनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार आज बिहानै ओली र लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही सन्दर्भमा गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन्, “PROMISE IS A PROMISE: कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।”
गृहमन्त्री गुरुङले अब देशले नयाँ दिशा लिने विश्वास समेत व्यक्त गरेका छन्। निर्वाचनका बेला र सरकार गठनको क्रममा सुशासन र कानुनी राज्यको पक्षमा गरिएका वाचाहरू पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । आयोगको प्रतिवेदनमा उल्लेखित ‘लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरी ज्यान लिएको’ कसुरअन्तर्गत फौजदारी अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
यो पक्राउ र गृहमन्त्रीको कडा टिप्पणीले राजनीतिक वृत्तमा ठुलो तरङ्ग पैदा गरेको छ । एकातिर सरकारले यसलाई विधिको शासनका रूपमा व्याख्या गरेको छ भने अर्कोतिर विपक्षी दलहरूले यसलाई नयाँ सरकारको राजनीतिक पूर्वाग्रहका रूपमा लिएका छन् । हाल दुवै नेताहरूलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको छ ।

















