Logo

१४ चैत, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको २४ घण्टा नबित्दै ‘जेनजी आन्दोलन’ दमनको अभियोगमा पक्राउ परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले स्वास्थ्य परीक्षण गराई हिरासतमा राखेको छ ।

गृहमन्त्री सुधन गुरुङको विशेष निर्देशनमा शनिबार बिहानै आ-आफ्नो निवासबाट नियन्त्रणमा लिइएका दुवै प्रभावशाली नेताहरूलाई सुरक्षा संवेदनशीलताका साथ छुट्टाछुट्टै स्थानमा राखिएको हो  ।

भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसर पुर्‍याएलगत्तै स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल लगिएको छ । अस्पतालको ‘रेड जोन’ स्थित २७ नम्बर बेडमा राखेर उनको स्वास्थ्य जाँच भइरहेको छ । ‘रेड जोन’ विशेष गरी जटिल र संवेदनशील बिरामीका लागि छुट्याइएको क्षेत्र हो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि मात्र ओलीलाई कहाँ राख्ने भन्नेबारे अन्तिम टुङ्गो लाग्नेछ ।

यसैगरी, भक्तपुरकै कटुन्जेस्थित निवासबाट पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने महाराजगन्जस्थित प्रहरीको २ नम्बर गढमा राखिएको छ । पक्राउलगत्तै तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई प्रहरीको सुरक्षा घेराभित्र गढमा लगिएको हो ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा राज्य पक्षबाट भएको हिंसात्मक दमन र मानवीय क्षतिबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै प्रहरीले यो कदम चालेको हो ।

शनिबार सार्वजनिक बिदा भएकाले दुवै नेताहरूलाई आइतबार मात्रै म्याद थपका लागि अदालत उपस्थित गराइने तयारी छ । उच्च पदस्थ नेताहरू पक्राउ परेपछि टिचिङ अस्पताल र प्रहरी गढ वरपर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।


सम्बन्धित समाचार
भर्खरै