Logo

१५ चैत, काठमाडौँ । सरकारले गत भदौ २४ गते मुलुकका विभिन्न स्थानमा भएका हिंसात्मक घटना, आगजनी र लुटपाटको सत्यतथ्य पत्ता लगाउन छुट्टै उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक साताभित्र समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

उक्त समितिलाई भदौ २४ मा भएका घटनासम्बन्धी सम्पूर्ण तथ्य सङ्कलन, सूक्ष्म विश्लेषण तथा घटनामा संलग्न जिम्मेवार पक्षको पहिचान गरी निश्चित समयसीमाभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइनेछ । सरकारले यसअघि भदौ २३ को घटनालाई मात्र प्राथमिकतामा राखेको र २४ गतेका दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै नागरिक समाज र विभिन्न क्षेत्रबाट आलोचना भएपछि यो नयाँ कदम चालेको हो ।

भदौ २४ गते आन्दोलनको आवरणमा उग्र भीडले सरकारी कार्यालय तथा निजी सम्पत्तिमा व्यापक आगजनी, तोडफोड र लुटपाट गरेका थिए। सो दिनको श्रृङ्खलाबद्ध हिंसाका कारण अर्बौँको भौतिक क्षति हुनुका साथै जनजीवन त्रसित बनेको थियो । सरकारले भदौ २३ र २४ दुवै दिनका घटनालाई समान गाम्भीर्यका साथ लिँदै दोषीलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।

नयाँ गठन हुने समितिले घटनाको पृष्ठभूमि, परिचालन गर्ने शक्ति र सुरक्षा कमजोरीबारे समेत अध्ययन गर्ने बुझिएको छ । समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने सरकारले प्रस्ट पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै