१५ चैत, काठमाडौँ । लगातारको वर्षा र रोशी खोलाको बाढीका कारण शुक्रबार साँझदेखि ठप्प रहेको बीपी राजमार्ग आइतबार बिहानबाट पुन: सञ्चालनमा आएको छ । काभ्रेको रोशी खोलामा आएको बाढीले विभिन्न स्थानमा सडक बगाएपछि अवरुद्ध भएको यो राजमार्ग झन्डै ३६ घण्टापछि सुचारु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहका अनुसार भक्तपुर सडक डिभिजन कार्यालयसँगको निरन्तर समन्वय र प्रयासपछि आइतबार बिहानबाट राजमार्ग दुईतर्फी नै खुल्ला गरिएको छ । शुक्रबार साँझ ६ बजेदेखि काभ्रे खण्डको रोशी–७ घुमाउनेडाँडा, रोशी–९ को विरुवाडाँडा र चिउरीबास, रोशी–११ को कालढुङ्गा तथा नमोबुद्ध–६ को चौकीडाँडामा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
रोशी खोलाको बहाव बढेपछि यसअघि बनाइएको करिब साढे ५ किलोमिटर अस्थायी डाइभर्सन बाढीले बगाएको थियो । प्राविधिक टोली र मेसिनको प्रयोग गरी बगाएका स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरिएपछि सवारी आवागमन सम्भव भएको हो । राजमार्ग खुलेसँगै गन्तव्यमा जान नपाएर बाटोमै रोकिएका सयौँ सवारी साधन र यात्रुहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
राजमार्ग सञ्चालनमा आए पनि मौसम अझै प्रतिकूल रहेकाले र सडकको अवस्था कमजोर भएकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन प्रहरीले विशेष अनुरोध गरेको छ । वर्षा भइरहेको अवस्थामा पुन: पहिरो खस्ने वा बाढी आउने जोखिम कायमै रहेकाले सवारी चालकहरूलाई सचेत रहन भनिएको छ ।

















