१६ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन गरिने ‘ब्रिज कोर्स’ (पुल पाठ्यक्रम) का कक्षाहरूमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । नवनियुक्त शिक्षा मन्त्री सस्मित पोखरेलको विशेष पहलमा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र सुरु हुनुअघि सञ्चालन गरिने यस्ता कक्षाहरूले विद्यार्थीको मनोविज्ञान र शिक्षाको समतामूलक पहुँचमा गम्भीर नकारात्मक प्रभाव पारेको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनावश्यक मानसिक तनाव सिर्जना गर्ने मात्र नभई अभिभावकहरूमाथि समेत ठुलो आर्थिक बोझ थपिएको देखिएकाले यसलाई बन्द गर्ने निर्णय गरिएको हो।”
शिक्षा मन्त्री पोखरेलले कार्यभार सम्हाले लगत्तै शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्य गर्ने योजना अनुरूप यो कदम चालिएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका अनुसार ब्रिज कोर्सका नाममा शैक्षिक संस्थाहरूले मनोमानी शुल्क असुल्ने र विद्यार्थीलाई प्रतिस्पर्धाको नाममा थप थकित बनाउने प्रवृत्ति बढेको थियो ।
अबदेखि कुनै पनि शिक्षण संस्था वा कोचिङ सेन्टरले भर्ना पूर्वका यस्ता तयारी कक्षाहरू सञ्चालन गर्न पाउने छैनन्। यदि कसैले नियम उल्लङ्घन गरी कक्षा सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ । यस निर्णयले शिक्षा प्रणालीलाई थप सहज र नतिजामुखी बनाउने विश्वास गरिएको छ ।

















