१७ चैत,वीरगञ्ज । बाराको जीतपुरसिमरा — उपमहानगरपालिकाले निजी विद्यालयहरूमा हरेक वर्ष पाठ्यपुस्तक बदल्ने अनियमित अभ्यासमा रोक लगाउँदै अबदेखि पूर्व स्वीकृति बिना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने कडा निर्देशन जारी गरेको छ।
नगर प्रमुख रजन पौडेलको निर्देशनमा जारी गरिएको यस निर्णयअनुसार पाठ्यक्रम परिवर्तन वा अपरिहार्य कारणबाहेक पुस्तक परिवर्तन गर्न पाइने छैन। परिवर्तन आवश्यक भएमा विद्यालयले ठोस कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
पछिल्ला वर्षमा बारम्बार पाठ्यपुस्तक परिवर्तन हुँदा अभिभावकहरूमा अनावश्यक आर्थिक भार परेको गुनासो बढेपछि उपमहानगरले यस्तो कदम चालेको हो। यसले विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमन गर्ने र उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
स्थानीय अभिभावक सञ्जय यादवले यस निर्णयको स्वागत गर्दै यसले शिक्षामा अनुशासन र पारदर्शिता बढाउने विश्वास व्यक्त गरेका छन्।


















