१९ चैत, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित स्काईलाइन इन्फ्रा लिमिटेडले आफ्नो जग्गासम्बन्धी केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै खण्डन गरेको छ ।
कम्पनीले खोज पत्रकारिता केन्द्रको सहकार्यमा केही अनलाइन माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंस्थित एक अनलाइन न्यूज पोर्टलमा प्रकाशित ‘महानगर नै भर्याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल’ शीर्षकको समाचार प्रायोजित र भ्रामक भएको कम्पनीको दाबी छ ।
कम्पनीका सचिवद्वारा जारी विज्ञप्तिमा यथार्थ तथ्य पत्ता लगाउने प्रयास नगरी, कम्पनीको धारणा नलिई र प्रमाणहरू नहेरी समाचार सम्प्रेषण गरिएको उल्लेख गरिएको छ । साथै, भूमाफिया र बिचौलियाहरूले अनुसन्धानात्मक पत्रकारितामा संलग्न संस्थालाई गुमराहमा पारेर आफ्नो प्रायोजनमा स्काईलाइन इन्फ्रा लिमिटेडविरुद्ध भ्रामक समाचार प्रकाशन गराएको भन्दै कम्पनीले आपत्ति जनाएको छ ।
सरोकार नभएका व्यक्तिहरूको नाम जोडेर मालपोत कार्यालयजस्तो अर्धन्यायिक निकायमा विचाराधीन विषयलाई प्रभावित पार्ने कुत्सित मनसायले समाचार प्रकाशित गरिएको कम्पनीको ठहर छ । यसलाई कम्पनीले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनसमेत भनेको छ ।
स्काईलाइन इन्फ्रा लिमिटेडले आफूले कसैको जग्गा हडपेको नभई साबिकदेखि खरिद–बिक्री हुँदै आएको जग्गा कानुनबमोजिम मूल्य भुक्तान गरी मालपोत कार्यालय पर्साबाट रजिस्ट्रेसन पास गराएको स्पष्ट पारेको छ ।
त्यसैगरी, कम्पनीले वीरगञ्ज महानगरपालिकाबाट विधिवत् नक्सा पास अनुमति लिएर मात्र सुविधा सम्पन्न भवन ९स्काईलाइन मल० निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
यसअघि पनि केही व्यक्तिहरूले उक्त जग्गासम्बन्धी विवाद सिर्जना गरेकोमा सक्षम निकाय र अदालतबाट कानुनबमोजिम विवाद निरुपण भइसकेको कम्पनीको भनाइ छ । यससम्बन्धी आवश्यक सबै प्रमाणहरू सुरक्षित राखिएको र सम्बन्धित निकायमा बुझाइसकिएको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले अब उप्रान्त एकपक्षीय रूपमा यस्ता भ्रामक र असत्य समाचार प्रकाशन नगर्न आग्रह गर्दै यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ । साथै, आफ्नो प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले आएका यस्ता प्रायोजित समाचारप्रति भ्रममा नपर्न आम नागरिकलाई अनुरोध गरेको छ ।


















