Logo

२० चैत, काठमाडौँ । रेडियो नेपालको ७६ औँ वार्षिकोत्सवको विशेष अवसरमा मधेस प्रदेशका ब्यूरो प्रमुख ध्रुब अधिकारी स्वर्ण पदकबाट सम्मानित हुनुभएको छ। काठमाडौँमा आयोजित एक भव्य समारोहका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अधिकारीलाई उक्त पदक प्रदान गर्दै सम्मान गर्नुभएको हो।

वि.सं. २०५५ सालदेखि रेडियो नेपालमा संवाददाताको रूपमा यात्रा सुरु गर्नुभएका अधिकारी हाल वीरगञ्जस्थित मधेस प्रदेश ब्यूरो प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले मुलुकको लोकतन्त्र स्थापना र यसको संस्थागत विकासमा रेडियो नेपालले ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभयो। रेडियोको दायरा पहिलेभन्दा फराकिलो भएको चर्चा गर्दै उहाँले संस्थाको गरिमा जोगाउने मुख्य जिम्मेवारी त्यहाँ कार्यरत पत्रकार र कर्मचारीकै भएको स्मरण गराउनुभयो।

मन्त्री तिमिल्सिनाले रेडियो नेपालले धेरै स्रष्टाहरू जन्माएको र आफू स्वयंले पनि विगतमा यहाँ रचनाहरू पठाउने गरेको रोचक प्रसङ्ग सुनाउँदै सबैलाई जिम्मेवार भएर सत्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो।

देश अहिले नयाँ ऊर्जा र गतिसहित अघि बढेको बताउँदै मन्त्री तिमिल्सिनाले समाजमा व्याप्त नकारात्मकतालाई रूपान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ”सबै इमानदार र जिम्मेवार भएमा संस्था मात्र होइन, देश पनि सुन्दर बन्छ ।“ उहाँले मन्त्रालयका बन्द कोठामा कुनै सेटिङ नहुने स्पष्ट पार्दै गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले रेडियो नेपालको पहुँच हाल ९४ प्रतिशत नागरिकसम्म पुगेको जानकारी दिँदै यसलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

यस्तै, सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले विभिन्न आरोह९अवरोह खेप्दै रेडियो नेपाल अहिलेको अवस्थामा आइपुगेको बताउँदै आगामी दिनमा संक्रमणकालीन जटिलता न्यूनीकरण गर्दै लगिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रमको उद्घाटन सत्रमा कार्यकारी अध्यक्ष विष्टले मन्त्री र सचिवलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो।


सम्बन्धित समाचार