२० चैत, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्व संकलनको परम्परागत कडाइपूर्ण शैली त्यागेर विश्वास र सहकार्यमा आधारित कार्यप्रणाली अपनाउन आग्रह गरेका छन्। उनले कर्मचारीहरूलाई लक्ष्यभन्दा बढी राजस्व उठाउने स्पष्ट निर्देशन दिँदै त्यसका लागि उद्योगी–व्यवसायीलाई त्रसित बनाउने होइन, संवादमार्फत सहजीकरण गर्ने रणनीति आवश्यक रहेको बताए।
वीरगञ्ज भंसार निरीक्षणका क्रममा मन्त्री वाग्लेले राजस्व संकलनको नाममा हुने धरपकड, छापा र अनावश्यक दबाबले दीर्घकालीन रूपमा व्यापार वातावरण बिगार्ने तर्क गरे। उनका अनुसार छोटो अवधिमा कडाइ गरेर राजस्व बढे पनि त्यसले निजी क्षेत्रलाई हतोत्साही बनाउने जोखिम रहन्छ। त्यसैले भन्सार प्रशासनले व्यवसायीलाई साझेदारका रूपमा लिएर विश्वासको वातावरण निर्माण गर्नुपर्ने उनले जोड दिए।
उनले भन्सार क्षेत्रमा बारम्बार उठ्दै आएका घुसखोरी र अनियमितताका विषयप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे। भ्रष्टाचारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिँदै उनले राज्य अब त्यस्ता गतिविधिप्रति कठोर रूपमा प्रस्तुत हुने स्पष्ट पारे। “सदाचार माथिबाट सुरु हुन्छ, त्यसैले प्रत्येक तहमा इमान्दारिता अनिवार्य छ,” उनले भने।
यसैबीच, कार्यक्षमता देखाउने कर्मचारीलाई पुरस्कृत गर्ने नीति सरकारले अघि बढाएको उनले जानकारी दिए। लक्ष्यअनुसार वा लक्ष्यभन्दा बढी राजस्व उठाउने कर्मचारीलाई प्रोत्साहन गरिने र खराब अभ्यासमा संलग्नलाई निरुत्साहित गरिने उनले बताए। बजार अनुगमनलाई पनि दुरुपयोग नगर्न उनले विशेष रूपमा सचेत गराए।
मन्त्री वाग्लेले बदलिँदो समयअनुसार प्रशासनिक व्यवहार पनि रूपान्तरण हुनुपर्नेमा जोड दिए। नागरिक र व्यवसायीले सेवा प्रवाहमा फरक अनुभव गर्न सक्ने गरी नयाँ कार्यशैली अपनाउनुपर्ने उल्लेख गर्दै उनले सरकारले लिएको आर्थिक लक्ष्य हासिल गर्न सबै निकाय समन्वयका साथ अघि बढ्नुपर्ने धारणा राखे।


















