Logo

२१ चैत, काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो आपराधिक गतिविधि र गुन्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष ‘अपरेसन’ सुरु गरेको छ । गएराति राजधानीका विभिन्न स्थानमा चलाइएको उक्त सर्च अपरेसनका क्रममा प्रहरीले गुन्डागर्दीमा संलग्न १७ जनालाई नियन्त्रणमा लिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त सक्रियतामा ठमेल, दरबारमार्ग, सामाखुसी र बौद्ध लगायतका क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा कुख्यात ‘काभ्रेली समूह’ का सदस्यहरूको बाहुल्यता रहेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले १३ जनालाई समातेको छ, जसमा काभ्रेली समूहका सञ्जि लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ रहेका छन् ।

गुरुङ गुन्डा नाइके श्याम लामा समूहका मुख्य सहयोगी मानिन्छन् । प्रहरीका अनुसार सोही समूहका नाइके श्याम लामा भने हाल फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको छ ।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ । परिसरका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ रहेका छन् ।

पक्राउ परेकामध्ये प्रवीण तामाङ बौद्ध क्षेत्रमा गुण्डागर्दी र असुलीमा सक्रिय रहँदै आएका थिए भने बिर्जु महर्जन र सुजन कार्कीले कलंकी र बाफल क्षेत्रलाई आफ्नो कार्यथलो बनाएका थिए। त्यस्तै, हुमागाईँ स्युचाटार क्षेत्रमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखी थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पछिल्लो समय व्यवसायीहरूलाई धम्क्याउने र अवैध असुली गर्ने उजुरी बढेपछि प्रहरीले गुण्डागर्दी विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै यो कदम चालेको हो ।


सम्बन्धित समाचार