Logo

२२ चैत, काठमाडौँ ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भइसकेकाले आज दुवै रिटमाथि बहसका लागि पेसी तोकिएको हो ।

‘जेनजी’ आन्दोलनका घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले उनीहरूलाई गत चैत १४ गते पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानुनी भएको दाबी गर्दै दुवै नेताले चैत १५ गते सर्वोच्च अदालतमा छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

यसअघि चैत १६ गते भएको प्रारम्भिक सुनुवाइमा सर्वोच्च अदालतको छुट्टाछुट्टै इजलासले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरेको थियो। अदालतको सोही आदेश बमोजिम विपक्षी सरकारका तर्फबाट लिखित जवाफ अदालतमा दर्ता भइसकेको छ।

अदालती स्रोतका अनुसार मुद्दाका सबै प्रक्रियागत पक्षहरू पूरा भइसकेकाले आज दुवै जनाको रिटमाथि पूर्ण सुनुवाइ हुनेछ। आजको बहसमा दुवै पक्षका कानुन व्यवसायीहरूले पक्राउको औचित्य र कानुनी आधारबारे तर्क राख्नेछन् ।

सरकारले कार्की आयोगको प्रतिवेदनमा औँल्याइएका कैफियत र सिफारिसका आधारमा उच्च तहका नेताहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको हो। यद्यपि, प्रमुख प्रतिपक्षी दल लगायतका सरोकारवालाहरूले भने यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएका छन् ।

आजको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूलाई हिरासतमुक्त गर्ने वा अनुसन्धानका लागि हिरासतमै राख्न अनुमति दिने भन्ने विषयमा महत्त्वपूर्ण आदेश दिने अपेक्षा गरिएको छ। राजधानीको सुरक्षा व्यवस्था र राजनीतिक सरगर्मीलाई मध्यनजर गर्दै सर्वोच्च परिसरमा सुरक्षा सतर्कता बढाइएको छ ।


सम्बन्धित समाचार