२३ चैत,काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा शीर्ष नेताहरू अनुपस्थित रहँदा राप्रपा सांसदले प्रश्न उठाएका छन्। बैठकमा अगाडिको रोमा शीर्ष नेताहरूको सिट व्यवस्थापन गरिएको थियो।
राप्रपा सांसद मनिष झाले बैठकको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै भने, “सदन चिया पसल वा चौतारी होइन। जहाँ मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल जस्तो, विश्वविद्यालय जस्तो हुनुपर्ने हो।”
उनले थपे, “यहाँ म होमवर्क गरेर आउँछु, एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतीको तयारी गरेर आउँछु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।”
सांसद झाले चुनाव अघि ‘साउथ एसियाको बेस्ट पार्लामेन्ट’ को परिकल्पना गरिएको स्मरण गर्दै, अब सदनमा संस्कार र सिद्धान्तको बहस हुनुपर्ने र सबैको उत्तिकै मेहनत आवश्यक रहेको बताए।
साथै उनले २०१५ सालदेखि नेपालमा संसदीय अभ्यास हुँदै आएको र प्रतिपक्षलाई बलियो बनाउन त्यसबेलाका नेतृत्वले काम गरेको स्मरण गराए। नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले कुशल अविभावकको रूपमा काम गर्ने विश्वास पनि उनले व्यक्त गरे।



















