२६ चैत, काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविरामको सहमति भएको केही घण्टा नबित्दै इजरायलले लेबननका विभिन्न स्थानमा भीषण हवाई आक्रमण गरेको छ । बुधबार भएको यस आक्रमणमा परी २५४ जनाको ज्यान गएको छ भने १ हजार १६५ जना गम्भीर घाइते भएका छन् ।
लेबननी नागरिक रक्षा टोलीका अनुसार इजरायली लडाकु विमानहरूले राजधानी बेरुतसहित बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायरलाई निशाना बनाएका छन् । इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले विश्वकै रणनीतिक जलमार्ग मानिने ‘होर्मुज स्ट्रेट’ पुनः बन्द गरेको समाचार एजेन्सी एपीले जनाएको छ ।
करिब ४० दिनको युद्धपछि मंगलबार राति अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएको थियो । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त युद्धविराममा हेज्बुल्लाह समूह नसमेटिएको स्पष्ट पारेका छन् ।
यता इरानले अमेरिकालाई पठाएको १० बुँदे योजनामा भने हेज्बुल्लाहविरुद्धको आक्रमण पनि रोकिनुपर्ने उल्लेख थियो । इजरायलले भने हेज्बुल्लाहमाथिको सैन्य कारबाही नरोक्ने अडान लिएपछि युद्धविरामको भविष्य संकटमा परेको छ ।
यसअघि नै लडाकु समूह हेज्बुल्लाहले लेबननमा आक्रमण जारी रहे आफूहरूले पनि सम्झौता तोड्ने चेतावनी दिएको थियो ।
यसैबीच, युद्धलाई स्थायी रूपमै अन्त्य गर्ने प्रयासस्वरूप आगामी शुक्रबार (१० अप्रिल २०२६) पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानका प्रतिनिधिबीच वार्ता हुने भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दुवै पक्षका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, “म १० अप्रिल २०२६ शुक्रबार इस्लामाबादमा उनीहरूका प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु ताकि सबै विवाद अन्त्य गर्दै अन्तिम सम्झौताका लागि थप वार्ता गर्न सकियोस्।”
यो वार्तालाई मध्यपूर्वमा जारी मानवीय संकट र सैन्य द्वन्द्व समाधानको अन्तिम अवसरका रूपमा हेरिएको छ ।



















