Logo

३१ असार, काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार झालाई कसुरदार ठहर गरेको हो ।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार कसुर ठहर भएका पूर्वप्रदेश प्रमुख झालाई कति वर्ष कैद र जरिबाना हुने भन्ने सजाय निर्धारणका लागि भोलि असार ३२ गतेका लागि छुट्टै पेसी तोकिएको छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्थाअनुरूप उक्त मिति तय गरिएको हो ।

झाविरुद्ध एक महिलाले २०८१ जेठ ४ गते काठमाडौँको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी थिइन् । घटना सार्वजनिक भएपछि प्रतिवादी झाले ती महिलाविरुद्ध उल्टै काउन्टर जाहेरी दिएका थिए । दुवै पक्षको दोहोरो जाहेरीका कारण सुरुवाती चरणमा अनुसन्धान सुस्त बनेको भन्दै आलोचना समेत भएको थियो ।

लामो समयको अन्योल र प्राविधिक अनुसन्धानपछि प्रहरीले २०८२ साउन ४ गते झालाई पक्राउ गरेको थियो । पक्राउ परेको १० दिनपछि काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । उनी हाल डिल्लीबजार कारागारको न्यायिक हिरासतमा रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते राजेश झा (अहिराज) लाई मधेश प्रदेशको प्रमुख पदमा नियुक्त गरेको थियो । असार ३२ गते हुने सजाय निर्धारण सम्बन्धी बहसपछि इजलासले उनीमाथि हुने अन्तिम कैद र जरिबानाको फैसला सुनाउनेछ ।


सम्बन्धित समाचार