३१ असार, काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउँदै आज बुधबारदेखि उपभोक्तालाई पुनः ‘भरी सिलिन्डर’ (१४.२ केजी) ग्यास उपलब्ध गराउने निर्णय गरेको छ । बजारमा ग्यासको अभाव चुलिएपछि निगमले गत फागुन २९ गतेदेखि प्रतिसिलिन्डर आधा (७.१ केजी) मात्र ग्यास बिक्री वितरण गर्दै आएको थियो ।
निगमले आज एक सार्वजनिक सूचना जारी गर्दै बुधबारदेखि बजारमा १४.२ किलोग्रामकै पूरा सिलिन्डर ग्यास पठाउने व्यवस्था मिलाइसकेको जनाएको छ । निगमका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ (पूरा मूल्य) तिरेर भरी सिलिन्डर ग्यास खरिद गर्न सक्नेछन् ।
बजारमा यसअघि नै गइसकेका आधा सिलिन्डर (७.१ केजी) का ग्यासहरू पूर्ण रूपमा प्रतिस्थापन नहुँदासम्म भने बजारमा भरी र आधा दुवै किसिमका सिलिन्डरको बिक्री वितरण समानान्तर रूपमा जारी रहने निगमले स्पष्ट पारेको छ ।
आपूर्ति व्यवस्थामा सुधार आएकाले अब उपभोक्तालाई ग्यासको अभाव नहुने भन्दै निगमले अनावश्यक सञ्चित (होल्ड) नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आम उपभोक्तालाई आग्रह गरेको छ ।




















