४ वैशाख, जनकपुर । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक वृद्ध पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय जगतबहादुर थापा आज (बिहीबार) बिहान मृत भेटिएका हुन्।
प्रहरीका अनुसार थापाको शव बिहीबार बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको थियो। मृतकका छोरा अमित थापाले आफ्ना बुबा बुधबार साँझदेखि नै घरबाट बेपत्ता भएको जानकारी दिएका छन्। बेपत्ता हुनुअघि उनले अत्यधिक मादक पदार्थ सेवन गरेको छोराको भनाइ छ।
घटनाबारे बिहान १० बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको टोली घटनास्थल पुगेको थियो। प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान सुरु गरिएको छ।
ूवृद्धको मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ, तर घटनास्थलको प्रकृति र पारिवारिक स्रोतको भनाइअनुसार अत्यधिक मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ, प्रहरी निरीक्षक यादवले बताए।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















