Logo

५ वैशाख, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्सा जिल्लाका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी तोकेको छ । मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त बनाउने उद्देश्यका साथ पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत पठाएको हो ।

गत चैत ३० गतेको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत उपसचिवहरूलाई स्थानीय तहको जिम्मेवारी दिएको हो । नयाँ व्यवस्थाअनुसार, पोखरिया नगरपालिकामा गृह मन्त्रालयबाट उपसचिव शेखर पौड्याललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ । यसअघि पोखरियामा कौशल झाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

त्यसैगरी, मन्त्रालयले बहुदरमाई नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उपसचिव रमेश अधिकारीलाई पठाएको छ। त्यहाँ यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत वृजकिशोर प्रसादको स्थानमा अब अधिकारीले जिम्मेवारी सम्हाल्नेछन् । उता, कालिकामाई गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका केशव कुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ। यसअघि कालिकामाईमा कार्यरत राज कुशवाहाको भने गृह मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्रालयले गत चैत ३० गते एकैपटक २१ जना उपसचिव र ६ जना शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो । स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित प्रशासनिक हेरफेरको प्रक्रिया अन्तर्गत यी तीन पालिकामा नयाँ अधिकृतहरू पठाएको जनाएको छ। नियुक्त भएका अधिकृतहरूले छिट्टै आ-आफ्नो कार्यालयमा हाजिर भई कार्यभार सम्हाल्ने मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार