Logo

५ वैशाख,वीरगञ्ज ।भोजपुरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएका नेपाल र भारतका स्रष्टाहरूलाई वीरगन्जमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

भोजपुरी प्रतिष्ठान वीरगन्ज द्वारा आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान गरेका साहित्यकार र कलाकारहरूलाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा ‘पण्डित दीपनारायण मिश्र अन्तर्राष्ट्रिय पुरस्कार–२०८२’ भारतको झारखण्ड राज्य राँची निवासी भोजपुरी साहित्यकार कनक किशोर लाई प्रदान गरिएको छ। त्यस्तै ‘उमाशंकर द्विवेदी राष्ट्रिय पुरस्कार–२०८२’ बाराको कलैया निवासी साहित्यकार राम प्रसाद साह लाई प्रदान गरियो भने ‘भोजपुरी राष्ट्रिय प्रतिभा पुरस्कार–२०८२’ वीरगन्जका डा. शशीभूषण बर्णवाल लाई प्रदान गरिएको छ।

यसैगरी साहित्यकार मोतीउर रहमान, विक्रम साह, सञ्चारकर्मी प्रतिमा चौधरी, कलाकार गणेश परियार, लोकगायिका लालमुनी देवी तथा चित्रकार रोशन कुमार कलवारलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह ले दोसल्ला ओढाएर कदरपत्र र नगद राशीसहित सम्मान प्रदान गरेका थिए।

प्रतिष्ठानकी अध्यक्ष अनिता साह ले भोजपुरी भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान गर्ने स्रष्टालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताइन्।

कार्यक्रममा मधेस विश्वविद्यालय का उपकुलपति प्रा. डा. दीपक शाक्यको विशेष उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार