Logo

६ बैशाख, काठमाडौं । इरान र अमेरिकाबीचको सम्बन्धमा फेरि एकपटक गम्भीर दरार देखिएको छ, जसले विश्वव्यापी तेल आपूर्ति र कूटनीतिक स्थिरतालाई खतरामा पारेको छ ।

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘होर्मुज स्ट्रेट’ पुनः बन्द गर्दै अमेरिकामाथि पूर्ण अविश्वास व्यक्त गरेको छ । तेहरानले चेतावनी दिँदै भनेको छ कि यदि इरानी जहाजहरूलाई उक्त मार्गबाट निर्वाध रूपमा आवतजावत गर्न दिइएन भने, अन्य कुनै पनि देशका जहाजलाई त्यहाँबाट जान दिइने छैन ।

यो तनाव यतिसम्म चुलिएको छ कि इरानले हालै भारतीय जहाजमाथि समेत गोली प्रहार गरेको घटना सार्वजनिक भएको छ, जसले अन्तर्राष्ट्रिय व्यापारिक जगतमा त्रास फैलाएको छ ।

परिस्थिति नियन्त्रण बाहिर जान सक्ने संकेत

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई ‘गलत र अन्यायपूर्ण’ ठहर गर्दै जुनसुकै बेला परिस्थिति नियन्त्रण बाहिर जान सक्ने संकेत गरेका छन् । गालिबाफले विशेष गरी होर्मुज क्षेत्रमा बारुदी सुरुङ हटाउने कार्यलाई युद्धविरामको ठाडो उल्लङ्घन भएको बताएका छन् ।

उनले अमेरिकालाई हतियारको बलमा नभई रणनीतिक रूपमा कमजोर रहेको आरोप लगाउँदै इरानी सेना जुनसुकै सैन्य चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको उद्घोष गरेका छन् । इरानको दाबी छ कि लामो समयदेखि जारी तनावका बाबजुद उसको सैन्य क्षमता अझै पनि सुदृढ छ ।

अमेरिकी गुप्तचर निकायहरूले समेत इरानसँग अझै पनि युद्धअघिको ७० प्रतिशत ब्यालेस्टिक मिसाइल र ६० प्रतिशत मिसाइल लन्चर सुरक्षित रहेको स्वीकार गरेका छन् ।

यो द्वन्द्वको सिधा असर अहिले दक्षिण एसियाली मुलुक बङ्गलादेशमा देखिएको छ । इन्धनका लागि ९५ प्रतिशत आयातमा भर पर्ने बङ्गलादेशमा गहिरो ऊर्जा सङ्कट उत्पन्न भएको छ, जहाँ पेट्रोल पम्पहरूमा लामा लाइनहरू लाग्नेदेखि ऊर्जा जोगाउन विश्वविद्यालय र सरकारी कार्यालयहरूको समय कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

२ करोड ६० लाख ब्यारेल तेल बजारमा पठाइयो

यसैबीच, विश्व बजारमा तेलको अभाव हुन नदिन अमेरिकाले आफ्नो आपत्कालीन भण्डारबाट २ करोड ६० लाख ब्यारेल तेल बजारमा पठाएको छ । यद्यपि, इरान र अमेरिकाबीचको वार्ता भने अझै अन्योलमै छ । इरानले ट्रम्प प्रशासनको सर्तहरू नमान्ने र आफ्नो प्रशोधित युरेनियम नबुझाउने अडान लिएको छ। इरानभित्रै पनि आईआरजीसी र आम प्रदर्शनकारीहरूले अमेरिकालाई कुनै पनि सहुलियत दिन नहुने भन्दै सरकारमाथि दबाब बढाएका छन् ।

अमेरिकाभित्रै तीव्र मतभेद

कूटनीतिक रूपमा पनि यस विषयलाई लिएर अमेरिकाभित्रै तीव्र मतभेद देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई एक साहसी र बफादार सहयोगीको रूपमा प्रशंसा गर्दै इरानमाथि नाकाबन्दी जारी राख्ने बताएका छन् ।

अर्कोतर्फ, कमला ह्यारिसले भने इजरायली प्रधानमन्त्री नेतन्याहुले ट्रम्पलाई अनावश्यक रूपमा इरानसँगको युद्धमा धकेलेको र यसबाट अमेरिकी सैनिकहरूको ज्यान जोखिममा परेको भन्दै कडा आलोचना गरेकी छन् ।

पाकिस्तानमा हुने भनिएको वार्ताको सम्भावना पनि क्षीण बन्दै जाँदा मध्यपूर्वको यो शक्ति सङ्घर्षले विश्व राजनीतिलाई कुन दिशामा लैजान्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ ।


सम्बन्धित समाचार