६ बैशाख, काठमाडौँ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज आइतबार र भोलि सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्षिक कार्यक्रमअनुसार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ खुवाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार यस बृहत् अभियानलाई सफल बनाउन देशभरका स्थानीय तहहरूले पायक पर्ने स्थानमा खोप केन्द्रहरू तोकेका छन् भने करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मीहरू प्रत्यक्ष रूपमा परिचालन गरिएका छन् ।
बालबालिकाको सर्वाङ्गिण विकास र स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम अत्यन्तै प्रभावकारी मानिन्छ । चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति रक्षा गर्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र वृद्धि विकासमा मद्दत पुर्याउँछ ।
त्यस्तै, जुकाको औषधिले पेटका किरा हटाई कुपोषण, रगतको कमी, पेट दुख्ने र झाडापखाला जस्ता समस्याबाट बालबालिकालाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ । नेपालमा भिटामिन ‘ए’ को कमीले निम्त्याउने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि विसं २०५० देखि यो कार्यक्रम सुरु गरिएको थियो भने जुकाको औषधि खुवाउने अभियानलाई २०६७ सालदेखि देशभर विस्तार गरिएको हो ।
सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा यसरी निःशुल्क रूपमा औषधि र भिटामिन खुवाउने नियमित तालिका नै बनाएको छ। आज बिहानैदेखि देशका विभिन्न भागमा रहेका खोप केन्द्रहरूमा अभिभावकहरूले आफ्ना बालबालिकालाई औषधि खुवाउन ल्याइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले आफ्ना बालबालिकालाई नजिकैको केन्द्रमा लगेर यो सेवा लिन सबै अभिभावकहरूलाई आग्रह समेत गरेको छ ।

















