Logo

६ बैशाख, काठमाडौं । नेपाल र टर्कीबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ टर्कीले काठमाडौँमा आफ्नो राजदूतावास स्थापना गर्न सकारात्मक संकेत दिएको छ ।

टर्कीको संसद् ‘ग्रान्ड नेशनल एसेम्बली’ का सभामुख नुमान कुर्तुल्मुसले नेपाली संसदीय प्रतिनिधिमण्डलसँगको औपचारिक भेटघाटका क्रममा नेपालमा टर्किस दूतावास खोल्ने विषयमा आफ्नो सरकार सकारात्मक रहेको जानकारी दिनुभएको हो । इस्तानबुलमा आयोजित यस विशेष भेटवार्ताले दुई देशबीच दशकौँदेखि कायम रहेको कूटनीतिक सम्बन्धलाई संस्थागत र सुदृढ बनाउने नयाँ बाटो खोलेको छ ।

सभामुख नुमानले भेटका क्रममा नेपालका लागि टर्की सरकारले प्रदान गर्दै आएको शैक्षिक छात्रवृत्तिलाई आगामी दिनमा थप वृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । हाल टर्कीले नेपाली विद्यार्थीका लागि सीमित कोटामा छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा अब त्यसको दायरा फराकिलो बनाइने र दुई देशबीचको व्यापारिक सम्बन्धलाई समेत नयाँ गति दिइने उहाँको भनाइ थियो । यसले शिक्षा र व्यापारका क्षेत्रमा नेपाल र टर्कीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२ औँ महासभामा सहभागी हुन इस्तानबुल पुग्नुभएका राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले टर्किस नेतृत्वसँगको संवादमा संसदीय सहकार्यको महत्त्वमाथि जोड दिनुभयो ।

अध्यक्ष दाहालले दुई देशका संसद्बीच अनुभव आदानप्रदान, उच्चस्तरीय भ्रमण र संसदीय मैत्री समूह गठनका लागि नेपाल आतुर रहेको बताउनुभयो । संसदीय कूटनीतिमार्फत जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन सकिने उल्लेख गर्दै उहाँले टर्कीको यो सकारात्मक कदमले नेपालको अन्तर्राष्ट्रिय साख र द्विपक्षीय हितमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार