Logo

वीरगञ्ज । वीरगञ्जमा आइतबार बिहानैदेखि मुख्य सडक विस्तारका लागि डोजर अभियान सुरु गरिएको छ । अभियानसँगै विद्युत् आपूर्ति अवरुद्ध हुँदा शहरमा खानेपानीको अभाव देखिन थालेको छ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने मुख्य सडक फराकिलो बनाउने उद्देश्यले मापदण्डभित्र परेका घरटहरा हटाउन डोजर परिचालन गरिएको हो। बिहानैदेखि सुरु गरिएको अभियानले सडक क्षेत्रमा रहेका संरचना हटाउने कामलाई तीव्र बनाएको छ।

सडक डिभिजन कार्यालय हेटौडाको समन्वयमा सञ्चालन गरिएको अभियानमा सडक विभागका ९ वटा भारी उपकरण (डोजर, जेसीबी र एक्साभेटर) तथा वीरगञ्ज महानगरपालिकाका थप ४ वटा डोजर प्रयोग गरिएको छ।

अभियानका कारण विद्युत् सेवा अवरुद्ध भएपछि पानी आपूर्तिमा समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्। बिहानदेखि नै पानी नआउँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सडक विस्तारसँगै यातायात व्यवस्थापन सहज बनाउने र बढ्दो सवारी चापलाई व्यवस्थित गर्ने लक्ष्य राखिएको सरोकारवालाहरूले बताएका छन् । लामो समयदेखि रोकिएको सडक विस्तार कार्यलाई पुनः सक्रिय रूपमा अघि बढाइएको जनाइएको छ।

स्थानीय प्रशासनको सुरक्षा व्यवस्थापनबीच सञ्चालन भइरहेको यस अभियानले वीरगञ्जको मुख्य सडक क्षेत्रको स्वरूप परिवर्तन गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार