६ बैशाख, काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा अश्लील क्रियाकलाप र अनैतिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका युगान्डाका २० जना महिलालाई सरकारले नेपालबाट निष्कासन (डिपोर्ट) गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक आसपासबाट गत चैत ११ गते प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा ती महिलाहरूले ठमेल क्षेत्रमा पुरुषहरूको बाटो छेक्ने, अनावश्यक हैरानी दिने र यौनजन्य कार्यका लागि मोलमोलाई गर्ने गरेको तथ्य फेला परेको थियो ।
पक्राउ परेका महिलाहरूमाथि सुरुमा जिल्ला प्रहरी परिसर काठमाडौँले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको थियो। उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनही ५ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाएको थियो ।
जरिवाना तिरेर फौजदारी कारबाही टुङ्गिएलगत्तै प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको थियो । विभागले विदेशी नागरिकहरू नेपालमा बसेर स्थानीय कानुन विपरीतका अनैतिक कार्यमा संलग्न भएको ठहर गर्दै उनीहरूलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेको हो ।
अध्यागमन विभागको निर्णयसँगै सबै २० जना महिलालाई नेपालबाट निष्कासन गरिएको छ र उनीहरूलाई भविष्यमा समेत नेपाल प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।
प्रहरीको अनुसन्धानले एउटा संगठित गिरोहले नै ती महिलाहरूलाई युगान्डाबाट ल्याएर ठमेलमा यौन धन्दामा लगाएको निष्कर्ष निकालेको छ । यो कारबाहीसँगै ठमेल क्षेत्रको सुरक्षा र पर्यटनको गरिमा कायम राख्न प्रहरीले निगरानी अझ कडा बनाएको छ ।

















