६ वैशाख, (माडी) चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडीमा रहेको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको नयाँ नेतृत्व चयन भएको छ। नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाबाट शिवजी गायक अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
अध्यक्ष पदका लागि भएको चुनावी प्रतिस्पर्धामा गायकले प्रतिद्वन्द्वी शिव लामिछानेलाई भारी मतान्तरले पराजित गर्नुभएको हो। प्राप्त मतपरिणाम अनुसार गायकले ७ मत प्राप्त गर्दा लामिछानेले २ मत मात्रै प्राप्त गर्नुभएको थियो। अध्यक्ष पदमा निर्वाचन भए पनि समितिका अन्य प्रमुख पदाधिकारीहरू भने आपसी समझदारीमा सर्वसम्मत चयन भएका छन्।
समितिको उपाध्यक्षमा गिरीधारी सुवेदी, सचिवमा गोकुल लम्साल र कोषाध्यक्षमा गंगा बहादुर अधिकारी चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा तुलबहादुर मगर, कृष्णप्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने र शिवहरि सुवेदी रहनुभएको छ। अध्यक्ष बाहेकका सबै पदमा निर्विरोध नेतृत्व चयन हुनुलाई समितिभित्रको बलियो सहकार्य र आपसी समझदारीको रूपमा हेरिएको छ।
यससँगै माडी क्षेत्रमा रहेका पाँचपाण्डव, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिहरूले नयाँ नेतृत्व प्राप्त गरिसकेका छन्। अब माडीको बघौंडा मध्यवर्ती उपभोक्ता समितिको अधिवेशन हुन मात्र बाँकी रहेको छ।




















