Logo

७ वैशाख, सिम्रौनगढ (बारा) । बाराको सिम्रौनगढ नगरपालिका–६, सानो इटवालमा छाडा कुकुरको आक्रमणले स्थानीय एक किसानको गोठ नै रित्तिएको छ । आईतबार राति खोर तोडेर भित्र पसेका छाडा कुकुरको समूहले स्थानीय किसान नाजिर हुसैन “भोटू” अंसारीका ८ वटा खसीबाख्रा मारेपछि सो क्षेत्रमा त्रास फैलिएको छ ।

पीडित किसान अंसारीका अनुसार रातको समयमा खोरभित्रै पसेका कुकुरहरूले २५ देखि ३० केजी तौलका २ वटा खसी, २ वटा बाख्रा र ४ वटा पाठापाठी गरी ८ वटा खसीबाख्रा मारेका हुन् । घटनाबाट अन्दाजी एक लाख रुपैयाँ बराबरको क्षति भएको पिडित पक्षको दाबी छ । बिहान गोठमा जाँदा मृत अवस्थामा रहेका बाख्राहरू देखेपछि आफूहरू स्तब्ध बनेको अंसारीले बताए ।

सिम्रौनगढ क्षेत्रमा यसअघि पनि नगरका विभिन्न स्थानमा कुकुरको आक्रमणबाट पशुचौपाया मरेका घटनाहरू सार्वजनिक भइसकेका छन् । पटक–पटक यस्ता घटना दोहोरिँदा स्थानीय बासिन्दा आफ्नो पशुधन जोगाउन चिन्तित बनेका छन् ।

“पशुधन त क्षति भयो, अब बालबालिकालाई घरबाहिर निस्कन दिन पनि डर लाग्ने अवस्था आएको छ,” हुसैनले भने । टोलटोलमा झुण्डका झुण्ड हिँड्ने छाडा कुकुरहरूले पशुपालन गर्ने किसानहरूको मेहनत एकै रातमा खाइदिँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

छाडा कुकुर व्यवस्थापनको जिम्मा पाएको नगरपालिकाले उचित पहल नगर्दा स्थानीयले सास्ती भोग्नुपरेको छ । बारम्बार ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी कदम नचालिएको भन्दै स्थानीय आक्रोशित छन् । स्थानीय बासिन्दाले कुकुरको उचित व्यवस्थापन (वन्ध्याकरण वा नियन्त्रण) गर्न र बालबालिकाको सुरक्षा सुनिश्चित गर्न नगरपालिकासँग तत्काल माग गरेका छन् ।

छाडा कुकुरको बढ्दो संख्याले सिम्रौनगढको जनजीवन असुरक्षित बन्दै गएकाले समयमै नियन्त्रण नभए यस्ता दुर्घटना थप बढ्ने देखिन्छ ।


सम्बन्धित समाचार