८ वैशाख, कलैया (बारा) । कलैया उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ को पठनपाठन र भर्ना अभियानलाई व्यवस्थित बनाउन नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । उपमहानगरको शिक्षा शाखाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई परिपत्र गर्दै निर्धारित मितिमा शैक्षिक कार्यक्रम सुरु गर्न निर्देशन दिएको हो ।
शिक्षा शाखाका प्रमुख राजिव कुमार यादवद्वारा जारी सूचनाअनुसार, शैक्षिक सत्र २०८३ का लागि यही वैशाख १५ गतेदेखि विद्यालय भर्ना अभियान औपचारिक रूपमा सुरु हुनेछ । भर्ना अभियानसँगै विभिन्न शैक्षिक र रचनात्मक कार्यक्रमहरू सञ्चालन गरी वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्न विद्यालयहरूलाई स्पष्ट निर्देशन दिइएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको निर्देशनानुसार उपमहानगरले विद्यालयहरूलाई शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन भनेको छ । शाखाले विद्यालयहरूलाई अनिवार्य रूपमा शैक्षिक सत्रको कार्ययोजना निर्माण गर्न र वार्षिक कार्यतालिका तयार पार्न निर्देशन दिएको छ ।
यसबाहेक, विद्यालयहरूले आफ्ना विद्यालय सुधार योजनानिर्माण तथा अद्यावधिक गर्नुपर्नेछ भने शैक्षणिक योजनाहरूलाई पनि प्रभावकारी बनाउनुपर्नेछ । साथै, शिक्षकहरूको पेशागत क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यशाला र विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्ने विशेष योजना निर्माण गर्न उपमहानगरले जोड दिएको छ ।
कलैया उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई तोकिएको समयसीमाभित्र भर्ना अभियान र पठनपाठन सुरु गरी शैक्षिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेको छ । उपमहानगरको यो निर्णयले शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयको शैक्षिक वातावरणलाई थप चुस्त र योजनाबद्ध बनाउने अपेक्षा गरिएको छ ।


















