Logo

९ वैशाख, कलैया (बारा) । बाराको कलैया उपमहानगरपालिकाका नगर प्रहरीको एक समूहले गरेको अमानवीय व्यवहारले अहिले स्थानीय सरकारको कार्यशैली र नैतिकतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

बजार व्यवस्थापनका नाममा खटिएको नगर प्रहरीले मंगलबार एक स्थानीय व्यवसायीलाई पसलभित्रै पसी लछारपछार गर्दै सडकमा घिसारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कलैया बजार क्षेत्रमा तीव्र जनआक्रोश फैलिएको छ ।

सडकको फुटपाथ व्यवस्थापन गर्ने भन्दै नगर प्रहरीको टोलीले पसल सञ्चालकलाई नियन्त्रणमा लिने नाममा गरेको बलमिच्याइँ अहिले ‘सडक व्यवस्थापन’ नभई ‘व्यवसायीमाथिको दमन’ भएको भन्दै आलोचना भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार, सामान हटाउने विषयमा सुरु भएको सामान्य विवादमा नगर प्रहरीले व्यवसायीलाई मरणासन्न हुने गरी कुटपिट गर्दै पसल बाहिर घिसारेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त घटनाको भिडियोमा नगर प्रहरीले गरेको क्रूरता प्रष्ट देखिन्छ । भिडियो भाइरल भएपछि आक्रोशित बनेका स्थानीय व्यवसायी र सर्वसाधारणले मंगलबार दिनभर नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका थिए । परिस्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो। भीडको आक्रोशबाट नगर प्रहरीको टोलीलाई जोगाउन सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय पुर्‍याउनुपरेको थियो ।

आर्थिक मन्दी र महँगीको मारमा परेर जेनतेन व्यवसाय चलाइरहेका साना व्यवसायीहरू स्थानीय सरकारबाट सहयोग र अभिभावकत्वको अपेक्षा गर्छन् । तर, उपमहानगरपालिकाले भने कानुन कार्यान्वयनको नाममा बल प्रयोगको नीति लिएको स्थानीय व्यवसायीको गुनासो छ । “हामी सडक अतिक्रमणको पक्षमा छैनौँ, तर कानुनका रक्षक भनिएका नगर प्रहरीले नै कानुन हातमा लिएर व्यवसायीलाई घिसार्नु र कुटपिट गर्नु कत्तिको न्यायोचित हो?” एक स्थानीय अगुवाले प्रश्न गरे ।

कलैयामा नगर प्रहरीबाट व्यवसायीमाथि हातपात र दुर्व्यवहार भएको यो पहिलो घटना भने होइन । विगतमा पनि यस्ता थुप्रै घटनाहरू सार्वजनिक भइसकेका छन् । पटक–पटकका घटनाले नगर प्रहरीको दमनकारी व्यवहारलाई नै संस्थागत गर्न खोजेको हो कि भन्ने शंका व्यवसायीहरूले गरेका छन् ।

यस घटनाले स्थानीय सरकारको ‘सुशासन’ र ‘व्यवस्थित शहर’ बनाउने दाबीलाई मजाक बनाएको छ । उपमहानगरपालिका प्रशासनले दोषी नगर प्रहरीमाथि तत्काल छानबिन गरी कारबाहीको दायरामा नल्याएसम्म शान्त नहुने अडानमा स्थानीय व्यवसायीहरू रहेका छन् । स्थानीय सरकारको यस्तो शैलीले व्यवसायीको मनोबल गिराउने र बजारको वातावरण धमिल्याउने काम गरेको भन्दै यतिबेला कलैयामा चौतर्फी आलोचना भइरहेको छ ।

भिडियो :


सम्बन्धित समाचार