९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको राजस्व संकलनमा सुधारको संकेत देखिए पनि वार्षिक लक्ष्य पूरा गर्न भने महानगरका लागि फलामको चिउरा चपाउनु सरह भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा महानगरपालिकाले ४३ करोड ७४ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको तुलनामा निकै निराशाजनक हो ।
महानगरपालिकाको राजस्व महाशाखाका अनुसार, गत साउनदेखि चैत मसान्तसम्म विभिन्न कर शीर्षकबाट ४३ करोड ७४ लाख ३६ हजार ५४५ रुपैयाँ राजस्व दाखिला भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ करोड ४१ लाख रुपैयाँ बढी संकलन हुनुलाई सकारात्मक मानिए पनि यो गति महानगरको विशाल लक्ष्य भेट्टाउन पर्याप्त छैन । गत वर्षको सोही अवधिमा महानगरले ३७ करोड ३३ लाख २९ हजार ३७६ रुपैयाँ राजस्व उठाएको थियो ।
महानगरपालिकाले चालू आर्थिक वर्षका लागि १ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको थियो । तर, नौ महिनाको अवधिमा लक्ष्यको २५ प्रतिशत पनि राजस्व संकलन हुन सकेको छैन । राजस्व संकलनको यो सुस्त गतिले वार्षिक लक्ष्य पूरा हुनेमा गम्भीर आशंका उब्जिएको छ ।
राजस्व महाशाखा प्रमुख मनोज कर्णका अनुसार, नौ महिनाको प्रगति र वर्तमान अवस्था हेर्दा वार्षिक लक्ष्य हासिल गर्न निकै चुनौतीपूर्ण देखिएको छ । “हामीले संकलनको दर बढाउन प्रयास गरिरहेका छौं, तर लक्ष्य र संकलनबीचको खाडल पुर्न अब धेरै कठिन छ,” उनले भने ।
वीरगञ्ज महानगरपालिकाका लागि राजस्वको लक्ष्य भेट्टाउन नसक्नु पुरानो समस्या बन्दै गएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा पनि महानगरले १ अर्ब ६० करोड रुपैयाँको लक्ष्य राखेकोमा ६५ करोड रुपैयाँ मात्र संकलन गर्न सकेको थियो । यस पटक पनि लक्ष्यको तुलनामा संकलनको गति सुस्त देखिएपछि महानगरको कर प्रणाली र आम्दानीका स्रोतहरूको प्रभावकारितामाथि नै प्रश्नचिह्न खडा भएको छ ।
विशेषज्ञहरूका अनुसार, राजस्व संकलनमा देखिएको यो निरन्तरको सुस्तताले महानगरको आगामी आर्थिक वर्षका विकास निर्माणका योजना र प्रशासनिक खर्चमा प्रत्यक्ष नकारात्मक असर पार्नेछ। लक्ष्यअनुसार राजस्व उठ्न नसक्दा महानगरपालिकाका ठूला योजनाहरू प्रभावित हुने र वित्तीय स्वायत्ततामा समेत दबाब सिर्जना हुने निश्चित देखिन्छ । अबका बाँकी तीन महिनामा महानगरले कर संकलनमा कुनै चमत्कारिक सुधार ल्याउन नसके, यो वर्ष पनि लक्ष्यको ठूलो हिस्सा कागजमै सीमित रहने पक्का छ।


















