१३ बैशाख, काठमाडौं । निरन्तरको वर्षासँगै रोशी खोलामा आएको भीषण बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि अलपत्र परेका यात्रुहरूको उद्धार कार्य सुरु गरिएको छ ।
काभ्रेको मंगलटार क्षेत्रमा शनिबार दिउँसोदेखि रोकिएका सयौँ यात्रुहरूलाई सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सुरक्षित स्थानतर्फ लैजान थालिएको हो । बाढीले सडकका अस्थायी डाइभर्सनहरू बगाउनुका साथै कतिपय स्थानमा पहिरो खसेपछि यो मार्ग पूर्ण रूपमा ठप्प बनेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार मंगलटार र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा बस, माइक्रोबस र निजी सवारी साधनहरू रोकिएका छन् ।
सडक सञ्जाल विच्छेद भएपछि बिच सडकमै अलपत्र परेका यात्रुहरूलाई जोखिमयुक्त स्थानबाट पैदलै हिँडाएर सुरक्षित स्थानसम्म पुर्याउने प्रयास भइरहेको छ । प्रहरीले सम्भव भएसम्मका स्थानमा वैकल्पिक यातायातको समन्वय गरिरहेको समेत जानकारी दिएको छ ।
गत २०८१ असोजको विनासकारी बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग अहिले सामान्य वर्षा हुँदा समेत अवरुद्ध हुने गरी कमजोर बनेको छ । रोशी गाउँपालिका क्षेत्रमा पर्ने सडकका अस्थायी संरचनाहरू बाढीले पुनः बगाएपछि तत्काल सवारी सञ्चालन गर्न सक्ने अवस्था छैन ।
सडक डिभिजन कार्यालयले भने मौसममा सुधार नआएसम्म मर्मत कार्य अघि बढाउन कठिन हुने स्पष्ट पारेको छ। प्रशासनले वर्षा नरोकिएसम्म यस मार्गबाट यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले पनि सडकका विभिन्न खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै यात्रुहरूलाई सतर्क रहन भनिएको छ ।
काभ्रे प्रहरीले स्थानीय प्रशासनसँगको समन्वयमा अलपत्र परेका यात्रुहरूको खानपान र सुरक्षित आवासका लागि समेत पहल गरिरहेको जनाएको छ ।




















