Logo

२९ असार, काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककस्थित एक प्रख्यात बारमा आइतबार मध्यरातमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । बैंककको चाटुचक जिल्लामा अवस्थित स्थानीयमाझ निकै लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल ‘रोङ बियर ना लात फ्राओ’ बारमा उक्त दुर्घटना भएको हो ।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चानविराकुलले घटनास्थलमै सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्नि नियन्त्रकहरूले जलिरहेको भवनभित्रबाट २७ वटा शव निकालेका छन् । ज्यान गुमाउनेहरूमा ९ जना पुरुष र १८ जना महिला रहेका छन् । आगलागीमा परी घाइते भएका ६० भन्दा बढी व्यक्तिको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने केही अझै बेपत्ता रहेको थाइ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटना हुँदा बारभित्र संगीतकारहरूले प्रस्तुति दिइरहेका थिए । प्रत्यक्षदर्शी संगीतकारलाई उद्धृत गर्दै प्रधानमन्त्री चानविराकुलले बताएअनुसार बारको ‘कट-आउट स्विच’ मा अचानक आगो सल्किएलगत्तै ठूलो विस्फोट भएको थियो । विस्फोटपछि बारभित्र तीव्र गतिमा धुवाँ र आगोको लप्का फैलियो ।

आगलागी सुरु भएपछि धेरैजसो ग्राहकहरू ज्यान जोगाउन भवनको पछाडिपट्टि भागेर शौचालयभित्र लुक्न पुगेका थिए । तर, पर्याप्त हावा आवतजावत नहुने र धुवाँले भरिएका कारण अधिकांशको शौचालयभित्रै निसास्सिएर मृत्यु भएको पाइएको छ । अधिकांश शवहरू शौचालयभित्रैबाट बरामद गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार राति ११:३० बजे सडकमा गुडिरहेका एक कार चालकले बारमा आगो लागेको पहिलो पटक देखेका थिए । ती चालकले तत्कालै कार रोकेर बारको झ्यालको सिसा फुटाई दुई जनाको ज्यान जोगाउन सफल भएको बताए ।

मध्यरातपछि अग्निनियन्त्रकहरू घटनास्थल पुग्दा मुख्य ढोकामा भागदौड मच्चिएको थियो । सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक भएका विचलित पार्ने भिडियोहरूमा मानिसहरू चिच्याउँदै, एकअर्कामाथि लड्दै बारबाट बाहिर भागिरहेको देखिन्छ, जसमा केही व्यक्तिको शरीरमै आगो सल्किएको प्रष्ट देखिन्छ ।

अग्निनियन्त्रकहरूले करिब आधा घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिए पनि त्यतिन्जेलसम्म बार पूर्ण रूपमा ध्वस्त भइसकेको थियो । आगो निभेपछि सार्वजनिक भएका तस्बिरहरूमा बार बाहिर शव राखिएका झोलाहरू लस्करै देखिन्छन् भने भित्रपट्टिका फर्निचर, पर्खाल र छत जलेर कोइला बनेका छन् ।

बैंककका गभर्नर चाटचार्ट सिट्टिपुन्टले घटनास्थलको निरीक्षण गर्दै बारभित्र सजाइएका अत्यधिक प्रज्वलनशील सामग्रीका कारण आगो यति तीव्र गतिमा फैलिएको दाबी गरे । दैनिक पत्रिका ‘डेली न्युज’ सँग कुरा गर्दै उनले भने, “बारको भुइँतलामा रहेका चकलेट र अन्य सामान बिक्री गर्ने पसलहरूले आपत्कालीन निकासको बाटो छेकेको प्रारम्भिक रिपोर्टहरू आएका छन्।”

सुरक्षा मापदण्डको उल्लङ्घन र आपत्कालीन ढोका थुनिएका कारण मानवीय क्षति बढेको अनुमान गरिए पनि आगलागीको वास्तविक र प्राविधिक कारण पत्ता लगाउन फरेन्सिक अधिकारीहरूले विस्तृत अनुसन्धान सुरु गरिसकेको स्थानीय प्रशासनले जनाएको छ ।


सम्बन्धित समाचार