Logo

२८ असार, चितवन । चितवन प्रहरीले लागू औषध नियन्त्रण अभियानअन्तर्गत विशेष सक्रियता देखाउँदै खैरो हेरोइनजस्तो देखिने पदार्थ, फर्मास्युटिकल ड्रग्स र नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–८ सल्यानीटोलमा लागू औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले भरतपुर–८ का ३१ वर्षीय प्रकाश मोक्तान र भरतपुर–१२ का २७ वर्षीय गोविन्द गैरेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट ४.९२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, २० चक्की ट्रामाडोल ट्याब्लेट, ६० हजार १०० रुपैयाँ नगद र एक थान दाउ समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागू औषधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनबाट थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय चितवन प्रहरीले जिल्लाभित्र लागू औषधको कारोबार, ओसारपसार र सेवनविरुद्ध निगरानी बढाउँदै निरन्तर कानुनी कारबाहीलाई तीव्र पारेको छ ।


सम्बन्धित समाचार
भर्खरै